काठमाडौं : भूपू आर्मी कुट्ने प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ।
एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो। गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने भूपू आर्मी कर्णबहादुर अधिकारीलाई पाइपले कुटेका हुन्।
अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए। उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो। सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो।
थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए। प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनले कुटेका हुन्। अधिकारी घाइते भएका छन्।
पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए। कुटपिटबाट आफू अस्पताल नै जानु परेको भन्दै उनले विभिन्न निकायमा उजुरी गरेका हुन्।
जसअनुसार गुरुङमाथि छानबिन सुरु भएको हो। घटना गम्भीर प्रकृतिको देखिएकाले इन्स्पेक्टर गुरुङलाई कारबाही गरिने उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए।