काठमाडौं: गत असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियोे।
सोही भूकम्पमा परेर बझाङमा एकजनाको मृत्यु भयो भने, सुदूरपश्चिमभर २७ जना घाइते भए। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आंशिक क्षति पुगेको बताइएको छ।
भूकम्पपछि असोज १९ गते दलबलसहित बझाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए। प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका थिए।
प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहाले प्रतिवद्धता जनाएका थिए। तर, भूकम्प गएको एक महिनाभन्दा बढी भइसक्दा पनि पीडितहरुले अस्थायी घर बनाउन सरकारको तर्फबाट एक रुपैयाँ पाएका छैनन्। जबकी त्यो भूकम्पपछि जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को भूकम्पसमेत गइसकेको छ।
६ दशमलव ४ म्याग्निट्यूड रहेको उक्त भूकम्पले जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएको थियो। हालसम्म उक्त विपद्का कारण जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाले ज्यान गुमाइसकेका छन्। भने, कम्तीमा ३५७ जना घाइते भएको उल्लेख गरेको छ।
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो।
त्यहाँ पनि बझाङ जस्तै भूकम्पले घर भत्किएकाको हकमा अस्थायी आवासका लागि सरकारले तत्काललाई प्रतिपरिवार ५० हजार रुपैयाँसम्म रकम उपलब्ध गराउने तयारीसमेत गरिएको छ। तर, त्यो रकम कहिलेसम्म पाइने हो ठेगान छैन।
हालसम्म अस्थायी आवास निर्माण गर्न कुनै रकम नपाउनुले सरकारसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई उल्लु बनाएको बझाङका भूकम्प पीडितको दुखेसो छ। ‘दैवले ठगेको हामीलाई प्रधानमन्त्रीले पनि ठगे। एक महिना बित्यो तर उहाँले भनेको ५० हजार पाएन’ भूकम्पबाट भत्किएको घर हेर्दै एक स्थानीयले भने।
जिल्ला प्रशासन कार्यालय बझाङले भने हालसम्म पनि क्षतिको पूर्ण विवरण संकलन नभएकाले उक्त रकम वितरण गर्न समस्या भएको बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सत्य कुमारी जोशीका अनुसार प्राविधिक टोली आएर डाटा संकलन गरेर अरु प्रक्रिया अगाडि बढ्नेछ।
‘टोली अहिले आइसकेको छैन। सायद मंसिरको अन्तिममा आउँछ होला। प्राविधिक टोलीको अध्ययनपछि मात्र त्यो रकम प्राप्तिको प्रक्रिया अगाडी बढ्ला’ उनले भनिन्।