डडेल्धुराः ६ दिन अघि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका–५ बगरकोट रोडमा ३ वटा पसल तोडफोड भएर चोरी भयो।
२ दिन अघि मात्रै बगरकोट रोडस्थित कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’को घरमा डेरा गरी बस्नेहरूको कोठामा तोडफोड गरेर चोरी भयो।
४ दिन अघि अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरी भयो। तर, प्रहरीले भने चोर पत्ता लगाउन सकेको छैन्।
जिल्ला सदरमुकाममै राती चोरी हुन थालेपछि स्थानीय सशंकित छन्। चोरीका घटना बढेपछि स्थानीय निरज रावलले जिल्ला सदरमुकाममै प्रहरीले सुरक्षा दिन नसकेको हो ? भनि आक्रोश पोखे।
यता, डडेल्धुरा प्रहरीले भने चोरीका घटनामा अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी इन्सपेक्टर कुसुम नायकले बताए। नायकका अनुसार जिल्ला सदरमुकाममा सीसी क्यामरा नहुँदा पनि प्रहरीलाई अनुसन्धान गर्न समस्या छ।
‘बैंकका सीसी क्यामरा हेरेर पनि अनुसन्धान त गरिरहेका छौं। अनुसन्धान गर्न त्यत्तिले प्रयाप्त छैन्,’ उनले भने, ‘पहिलेका सीसी क्यामरा सबै निष्क्रिय छन्। पालिकासँग हामीले कुरा गरेका छौं। उहाँहरूले सहयोग गर्ने भनेका छन्, अब केही दिनमा जडान हुन्छ होला।’