कैलाली: कैलाली जिल्ला अदालतबाट मोबाइलसहित एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली समेत चोरी भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको हो।
अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ। चोरको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए।
कैलाली जिल्ला अदालतले मिसिल पनि चोरी भएको हुनसक्ने आशंकामा सम्पूर्ण शाखामा रिपोर्ट माग गरेको छ। अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ। उक्त फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ।
Facebook Comments Box