धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन्। खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंबाट धनुषा सरुवा भई गएका थिए। उनलाई आरती साहको हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले एसपी खड्कालाई हेडक्वाटर तान्न सुझाएको थियो।
धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन्। खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए। सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो।
आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन्। मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन्।
खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवारका सदस्यहरू १४५ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन्।