डडेल्धुराः नवदुर्गा गाउँपालिकामा निर्माणधिन कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माणका गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको आरोप लागेको छ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुराले नवदुर्गा गाउँपालिकामा निर्माण गरिरहेको उक्त भवनमा गुणस्तरहीन सामग्री प्रयोग आरोप लागेको हो।
नवदुर्गा गाउँपालिकाको मुकाम नजिकै निर्माण भइरहेको कृषि तथा पशु सेवा केन्द्रको भवन गुणस्तरहीन काम भइरहेको स्थानीय शेरबहादुर बिष्टले जानकारी दिए।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मातहतको आर्थिक करिडोर कार्यालय डडेल्धुराले उक्त सेवा केन्द्रको भवन निर्माणका लागि सिनर्जी विल्डर्स काठमाण्डौसँग सम्झौता गरेको छ। तर, निर्माण कम्पनी सिनर्जी विल्डर्सले भने परामर्सदाता इन्जिनियरसँगको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरेको बिष्टको आरोप छ।
फाउण्डेशनमा हात्तिपाइलेको ढलान गर्ने क्रममा माटो मिसिएको बालुवा र गुणस्तरहीन गिट्टी प्रयोग गरेको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले बन्न लागेको भवन हेर्न परामर्सदाताको रूपमा इन्जिनियर प्रकाश केसीलाई खटाएको छ। परामर्सदाता केसी र निर्माण व्यवसायी नातेदार हुन्।
गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरेर डिजाइन, स्टीमेट अनुसार काम गराउनको सटा उनले निर्माण व्यवसायीसँग मिलेर कामै नभएका आइटमको बिल बनाइ रकम भुक्तानीका लागी सिफरिस गरेका थिए। र, भुक्तानी समेत भइसकेको छ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुराका प्रमुख द्रोणबहादुर बुढाथोकीले अहिले कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माण कार्य रोकीएको जानकारी दिए। ‘बालुवा र गिट्टी डोजरले माटोमा मिसाइदिएको रहेछ। हामीले रोक्न लगाएका छौं,’ उनले भने।
सुदूरपश्चिम प्रदेशमा १० एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण हुने भएका छन्। प्रदेशका पाँच जिल्लाका १० वटा स्थानीय तहमा एकीकृत कृषि तथा पशु सेवा कार्यालय भवन बन्न लागेका छन्।
डडेल्धुराका चार, कैलाली र दार्चुलाका दुई/दुई तथा बैतडी र डोटीका एक/एक पालिकामा कार्यालय भवन निर्माण भइरहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुराले जनाएको छ।
डडेल्धुराको, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिकामा भवन निर्माण हुने प्रमुख द्रोणबहादुर बुढाथोकीले जानकारी दिए। १० वटा भवन निर्माणका लागि भ्याटसहित ३२ करोड बजेट छुट्याइएको छ।