डडेल्धुरा : अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई डोजर चलाए पेट्रोल छर्किएर आगो लगाउने धम्की दिने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महाकाली ट्रेडर्सका सञ्चालक तीर्थ भण्डारीलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए।
डडेल्धुरा सदरमुकाम बागबजारमा सडक फराकिलो बनाउन अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाएपछि विवाद उत्पन्न भएको थियो। सडक बिस्तारका लागि बागबजार क्षेत्रमा जग्गाको मुआब्जा वितरण गरिएको थियो।
सरकारले मुआब्जा वितरण गरिसके पनि घरबेटी र व्यापारीहरुले पूरानै सडकसम्म व्यापार गर्दै आइरहेका थिए । १५/१५ मिटर सडक दायाँ/बायाँ खाली गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले बारम्बार सूचना जारी गरेको थियो।
तर, घरबेटी र व्यापारीहरूले अटेरी गरेपछि सोमबार अवैघ संरचना हाटाउन अमरगढी नगरपालिकार सडक डिभिजन कार्यालयले जोडर चलाएको थियो । सेट ब्याग छोड्नु पर्ने प्राबधान भएपनि बागबजारका घरबेटी र व्यापारीहरुले मानेका छैनन्।
सडकको क्षेत्राधिकार १५/१५ मिटर दायाँ बायाँ र व्यक्तिगत एवं व्यापारिक प्रायोजनका लागि पर्ने ६/६ मिटर दायाँ/बायाँ छोड्नुु पर्ने प्राबधान रहेको छ । घरधनीलाई बागबजार क्षेत्र भूगोललाई मध्यनजर गरि ३/३ मीटर दायाँ बायाँ सेट ब्याग छोड्न भनेको अमरगढी नगरपालिका प्रमुख डिललीराज जोशीले बताए ।
तर, उल्टै पेट्रोल छर्केर आगो लगाउछु भन्दै पेट्रोल निकाली सलाई कोर्न थालेपछि अराजकता रोक्न उनलाई थुन्न लगाएको मेयर जोशीको भनाइ छ ।