काठमाडौँ : नेकपा (एमाले)ले जाजरकोट भूकम्पपीडितलाई १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ । एमालेको सामाजिक सेवा केन्द्रले जाजरकोट भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्न लागेको हो ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका सामाजिक सेवा केन्द्रका प्रमुख मोतिलाल दुगडले भूकम्प पीडितलाई चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि खाद्य सामग्रीका अलवा कम्बल र त्रिपाल पनि वितरण गर्न लागिएको जानकारी दिए ।
दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगन्ज, दाङ लगायतका जिल्लाबाट खरिद गरिसकिएको छ ।
राहत सामग्री दुई चरणमा पीडितकहाँ पुर्याउने तयारी गरिएको दुगडले जानकारी दिए । पहिलो चरणको राहत सामग्री दुई दिनभित्र नै पुर्याउन लागिएको उनले बताए ।
गत शुक्रबार राति ११:४७ मा गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको ज्यान गएको थियो ।