डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका १० वटा पालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण तीव्र रूपमा अगाडि बढेको छ।
प्रदेशका पाँच जिल्लाका १० वटा स्थानीय तहमा एकीकृत कृषि तथा पशु सेवा केन्द्रका भवन बन्न लागेका हुन्।
जुन निर्धारित समयमै सम्पन्न गर्ने गरि काम चलिरहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले जनाएको छ।
डडेल्धुराका चार, कैलाली र दार्चुलाका दुई/दुई तथा बैतडी र डोटीका एक/एक पालिकामा सेवा केन्द्रका भवन निर्माण भइरहेकाे कार्यालय प्रमुख द्रोणबहादुर बुढाथोकीले जानकारी दिए।
१० वटा भवन निर्माणका लागि भ्याटसहित ३२ करोड बजेट छुट्याइएको उनको भनाइ छ।
´अरू ठाउँमा तिव्र रूपमा काम भइरहेको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकामा गुणस्तरहीन सामग्री प्रयोग भयो भन्ने गुनासो थियो,` उनले भने, ´फिल्डमै गएर अनुगमन गर्दा गुणस्तरीय कार्य नै भएको छ। इन्जिनियरिङ पद्धतिबाट बालुवाको परिक्षण गर्दा राम्रै पायौं।
`
बालुवा र गिट्टी राखिएको उक्त क्षेत्रमा उक्त भवन (फाउन्डेसन) तयार गर्दा निस्किएको माटो ढुङ्गा रहेको र ठाउँ अभावले सोही नजिकैको ठाउँमा गिट्टी बालुवा समेत राखिएको हुँदा सूचना दिने ब्यक्तिले त्यहा वरपरको माटो ढुङ्गालाई समेत मूल्यांकन गरी सूचना दिएको हुनसक्ने उनले जिकिर गरे।
माटो मिसिएको बालुवा, गिट्टी प्रयोग नगरेको साथै कार्यालबाट पटकपटक अनुगमन गरेर प्रयोग गर्न नदिएको दाबी उनको छ।
उनी भन्छन्, ´नवदुर्गामा अहिलेसम्म कुनै पनि भुक्तानी भएको छैन्। परामर्शदाताको रूपमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ईन्जिनियर प्रकाश केसीलाई खटाएको हो।`
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मातहतको आर्थिक करिडोर कार्यालय डडेल्धुराले उक्त सेवा केन्द्रको भवन निर्माणका लागि सिनर्जी विल्डर्स काठमाण्डौसँग ई बिडिङ्गबाट सम्झौता गरेको छ।
परामर्शदाता र निर्माण व्यवसायीबिचको नाता सम्बन्ध नभएको बताउँदै उनले निर्माणाधीन कार्यको गुणस्तरमा कुनै पनि कुराको कमी हुन नदिने दाबी गरे।