धनगढी : रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा गोला थुत्दा चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको हो।
सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। ‘सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार उहाँ (रेशम चौधरी) विरूद्धको मुद्दा स्थगितमा परेको हो,’ उनले भने।
टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए। ०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।