काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै आर्थिक दबाबमा रहेको बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै आर्थिक दबाब कायम रहेको उल्लेख गरे।
उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनले देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए। उनले आर्थिक दबाब चिर्न रणनीतिक कदम चाल्नुपर्ने महसुस भएको बताए।
उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेका सन्दर्भमा देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ। अहिले अर्थतन्त्रका अधिकांश सूचक केही सकारात्मक भए पनि अझै हामी आर्थिक दबाबमा छौँ। भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढिरहेको छ।’
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे।