काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ जगदम्बा फ्याक्ट्रीमा सरसफाइको काम गर्ने सोही उपमहानगरपालिका-२ प्रभास टोल बस्ने २३ वर्षीय उज्ज्वल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको छ।
फ्याक्ट्रीमा सामान लिन आएको प्र ०२-०३-००१ ख ५९६ नम्बरको लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता बाँकेको कोहलपुर नगरपालिका-११ कृषि चोकमा सुपप्र ०१००१ ख २४३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसै गरी मकवानपुरको मनहरि गाउँपालिका-३ घट्टेदमारस्थित सडकमा ना२५ प ६९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ डोटे बस्ने २७ वर्षीय सञ्जीव बलको मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हेटौँडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।