डडेल्धुरा : नेकपा एकीकृत ( समाजवादी ) का महासचिव घनश्याम भुसालले देशमा उत्पन बेरोजगारी र सुशासनलगाएतका विद्यमान समस्याका मुद्दामा सरकार डराएर भागेर नहुने बताएका छन्।
शुक्रबार नेकपा एकीकृत समाजवादी डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
सुशासन बेरोजगारी लगाएतका विद्यमान समस्याहरू आफ्ना राष्ट्रिय एजेन्डा र संकल्प भएकोले यी एजेन्डामा पार्टी अगाडि बढेको उनले जिकिर गरे।
यीनै गतिविधिलाई लिएर अहिले विभिन्न ठाउँ ठाउँमा आफूहरुले काम गरिरहेको उनको भनाइ छ। एक पार्टीले मात्र उठेका सम्पूर्ण समस्या समाधान गर्न नसकिने भएकोले सम्पूर्ण पार्टी र सरकार एक भगर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
सरकारले समयमा ध्यान दिन नसक्दा बेरोजगारी र महङ्गी बढेको उनले बताए। आगामी दिनमा यस्तो समस्या नआओस् भनेर सरकारसँग नियमित छलफलमा रहेको उनी बताउँछन्।
एमाले अध्यक्ष केपी शर्मा ओली गरेको संसद विघटनलाई स्मरण गर्दै उनले भने, ´संसद विघटनले लोकतन्त्र, गणतन्त्र अनि समाजवादको यात्रालाई अबरुद्ध पार्न खोजिएको हो। मुलुकलाई दुर्घटनाबाट रोक्न नेकपा समाजवादीको जन्म भएको हो।`
त्यसैमा थप्दै भुसालले भने, ´नेपाली राजनीतिमा उक्त जटिलताको पराकम्प अहिलेसम्म देखिएको छैन्।`
पार्टीका थुप्रै नेता कार्यकर्ता एमालेमा फर्किने क्रम जारी छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ´गत निर्वाचनमा पार्टीको अपेक्षाकृत नतिजा नआउँदा केही पलायन र निराशा आएको हो।`
कम्युनिस्ट पार्टी एकताको बारेमा सोधिएको पश्नमा उनले भने, ´हाम्रो एजेन्डामा एकता हुन्छ हामी अगाडि बढ्छाैं। त्यसले पार्टीलाई ठूलो बनाउँदै जान्छौं। राजनीति शक्ति ठूलो बनाउँदै जान्छौं या त एजेन्डा बुझ्ने/मिल्ने एक ठाउँमा उभिन्छाैं। र, राष्ट्र बनाउने बाटोमा अघि बढ्छाैं।`