काठमाडौं : उमेर कीर्ते प्रकरणका कारण विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए उनको ठाउँमा दुईतारे जर्नेल अशोक सिग्देललाई लगिने भएको छ । दुई तारे जर्नेल सिग्देल तीन तारेमा बढुवा हुने निश्चित भएको छ ।
आज बेलुकासम्ममा पाण्डेको राजीनामा स्वीकृत हुने र सिग्देलले निमित्त बलाध्यक्षको जिम्मेवारी लिने बुझिएको छ । कोर्टअफ इन्क्वायरी गठन गरी आफूमाथि कारवाही प्रक्रिया अघि बढेपछि पाण्डेले आज बिहान जंगीअड्डा पुगेर राजीनामा बुझाएका थिए ।
योसँगै नेपाली सेनामा भावी नेतृत्वको लाइनसमेत क्रमशस् सोझिएको छ । अर्को वर्ष अर्थात् ०८१ को भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुनेगरी लाइन सोझिएको हो ।
यसअघि सरोजप्रताप राणा घर गएपछि सीताराम खड्काले बलाधिकृतको जिम्मा लिएका थिए । अहिले उनी सेनाको दोस्रो वरीयतामा छन् । खड्काले पुसमा अवकाश लिएपछि युएन फोर्समा कमाण्डर रहेका निर्मल थापा उनको ठाउँमा आउने छन् ।
नयाँ घटनाक्रमले अनुपजंग थापा र मधुकर कार्कीको लडाइँ पनि बेक्कार हुने भएको छ । यी दुई को लडाइँमा अब पूर्वराजपरिवारसँग निकट कार्की पछि पर्ने सम्भावना छ ।
कार्की पूर्वराजा ज्ञानेन्द्रको एडिसी रहिसकेका सैनिक अधिकृत हुन् । त्यसबेलाका अधिराजकुमार निराजनको पनि उनी एडिसी थिए । दरबार हत्याकाण्डमा निराजन मारिएपछि ज्ञानेन्द्रले उनलाई आफ्नो एडिसी बनाएका हुन् ।