डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागले जिल्लाको अमरगढी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न तीन करोड बजेट छुट्याएको हो । तर, फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्ती गर्न नसक्दा समस्या भएको छ।
फोहोर व्यवस्थापनकै विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेको छ। बैठमा अमरगढी नगरपालिका वडा नम्बर ६ को भजनेउटा नजिक गुणाकर भाटको जमिन खरिदको प्रक्रिया अगाडि बढेको नगर प्रमुख डिल्लीराज जोशीले जानकारी दिए।
उक्त जग्गाको मूल्य सरकारी दररेटभन्दा बढी गरिएकाले खरिद प्रक्रियामा ढिलाई भएको उनको भनाई छ । वडा नम्बर १ मालम गाउँवासीले गत साउन महिनामा आन्दोलन गरेपछि तीन महिनाभित्र फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो।
मालम जाने बाटो अर्थात् वडा नम्बर २ को दर्ता जमिनमा नगरपालिकाले फोहोर फाल्दै आएको थियो। मालम गाउवासीसंग गरिएको तीन महिनाको सम्झौता बुधबार सकिएको छ। सम्झौता सकिएपछि मालमवासीले सो क्षेत्रमा फोहोर फाल्न दिएका छैनन्।