दार्चुला– दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ। निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो।
क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए। उनीहरुले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए।
नेपाली सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ।
माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ।
केपी शर्माओली प्रधानमन्त्री भएका बेला महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डको ८७ किलोमिटर सडक निर्माणका लागि सेनालाई जिम्मेवारी दिइएको थियो। यो सडकमा आर्थिक वर्ष २०६५÷६६ देखि निर्माण थालिएको थियो।