कैलाली : नेकपा एमालेले मंसिर १४ गतेबाट गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको सुदूरपश्चिम प्रदेशमा तयारी सुरु गरिएको छ ।
आज बसेको प्रदेश पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा शुभारम्भ हुने पदयात्राको तयारी सुरु गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा सहितको बैठकले बैतडीको गोठलापानीमा आयोजना गरिने जनसभा तथा डडेल्धुरा डोटी र अछामको राजमार्गमा पर्ने स्थानमा सरोकारवालाहरूको उपस्थिति गराउने निर्णय गरेको हो ।
झुलाघाट (बैतडी) देखि चिवाभन्ज्याङ (पाँचथर) सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले २१ दिनको पदयात्रा गर्नेछन् ।
१ हजार ८ सय ७९ किलोमिटर पदयात्रामा उक्त टोलीले जनतासँग साक्षात्कार गर्ने, समस्या र गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने बताइएको छ ।