काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ रहेका ८१ सैनिक नेपाल फर्किएका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ८१ सैनिक नेपाल फर्किएका हुन् ।
ईओडी गुल्म (शा.से.) नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी चित्र कुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएको छ ।
मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णय अनुरुप नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो ।
नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरुमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुको दोस्रो वरीयतामा छ ।
हाल नेपालबाट ५८२ महिला शान्ति सैनिकका रुपमा खटिएका छन्, जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता हो ।