धनगढी: कैलालीको धनगढीकी सरिता(नाम परिवर्तन) गत माघमा आफ्नो काममा निस्किइन्। उनलाई बाटोमा एक अन्जान व्यक्तिले रोके। आफ्नो नाम मनोज कुँवर बताउने व्यक्तिले सरितालाई ‘तपाईंको श्रीमान् र मेरो बहिनीको अफेयर चलेको छ’ भनेर सुनाए। उनले दुवैजना टिकटकमा कुराकानी गर्ने र उनीहरुको मेसेज आफूसँग रहेको बताए। त्यो सुनेपछि सरिता छक्क परिन्।
श्रीमानको बारेमा त्यस्तो नानाथरी कुरा सुन्दा उनलाई विश्वास लागेन। अर्को दिनको भेटमा मनोजले सरिताका श्रीमान् र आफ्नी बहिनी भनिएकी युवती मनिषा(नाम परिवर्तन) मो मेसेज देखाए। तर, उनले भनेजस्तै अफेयर पुष्टि हुने खालका कुराकानी भने ती मेसेजमा थिएनन्। सरिताले उक्त कुरा आफ्ना श्रीमानलाई सुनाइन्। श्रीमानले आफूहरुको बीचमा त्यस्तो केही नरहेको तथा ती युवतीसँग सामान्य बोलचाल भएको मात्रै बताए।
त्यसपछि सरिता र उनका श्रीमानले मनिषालाई समेत सम्पर्क गरे। तर, मनिषाले सामाजिक सञ्जाल फेसबुकमा मनोज नाम लेखेका मिनबहादुर कुँवर आफ्नो दाई नभएको बताइन्। मनोजले उल्टै आफ्नो शोषण गरिरहेको उनले सुनाइन्। नातामा फुपा पर्ने मनोजले विगत १ वर्षभन्दा बढी समयदेखि आफ्नो शोषण गरिरहेको उनले बताइन।
सुरुमा उनले सहारा दिने तथा विदेश पठाउने भन्दै सम्बन्ध गाँसेको तर उल्टै २ लाख रकम मागेर अहिले सामाजिक सञ्जालमार्फत शोषण गर्ने गरेको मनिषाले सुनाइन्। आफूले बिहे गरौं भन्दा नमान्ने तर कसैसँग बोल्दा विभिन्न धम्की दिने गरेको मनिषा बताउँछिन्।
अहिले मनोजले सरिताको फोटो नै फेसबुकमा पोष्ट गरेर चरित्र हत्या गर्ने गरेका छन्। त्यति मात्रै होइन उनले सरिताका श्रीमानालाई ब्ल्याकमेल गरेर पैसासमेत मागिरहेका छन्। भेटेर कुरा गरौभन्दा भेट्नै नचाहने सरिताका श्रीमान बताउँछन्। उल्टै पतिपत्नीको फोटो राखेर फेसबुकमार्फत बद्नाम गर्ने उनको भनाई छ।
धनगढी उपमहानगरपालिका–१ चित्रनगर घर भएका अन्दाजी ४५ वर्षीय मनोज कुँवर विवाहित हुन्। उनका २ छोरी र एक छोरासमेत छन्। तर उनको यस्तै बानीले गर्दा घरपरिवार नै दिक्काएको छ। कामकाज केही नगर्ने मनोजलाई जति सम्झाउँदा पनि नमान्ने परिवार बताउँछ। उल्टै श्रीमतीलाई कुटपिट गर्ने गरेको छिमेकी बताउँछन्। उनले सरिता र मनिषा जस्तै अन्य महिलालाई समेत सताउने गरेको पाइएको छ।
सुरुमा विभिन्न महिलालाई धम्की दिएर शोषण गर्ने पछि चरित्र हत्या गर्ने तथा मारिदिने सम्मको धम्की दिने अन्य पीडित महिला बताउँछन्। आफ्नो फेसबुकमार्फत महिलालाई धम्की दिएर आपत्तिजनक शब्द राख्दै उनले महिलाका आफन्तलाई समेत साथी बनाएर महिलाका बारेमा नानाथरी भन्ने गरेको गुनासो बढ्दै गरेको छ। फेसबुक आइडी जस्तै अन्य सामाजिक सञ्जाल आइडी परिवर्तन गरिरहने मनोजले आफ्नो सम्पर्क नम्बरसमेत परिवर्तन गरिरन्छन्। उनको प्रतिक्रिया माग्न उनले प्रयोग गर्ने विभिन्न मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा हामी सफल हुन सकेनौं।
उक्त विषयमा पीडित महिलाहरु प्रहरीको सहारा लिने निर्णयमा पुगेका छन्। उनी विगतदेखि नै नेपाल–भारत ओहोरदोहोर गरिरहने बताइएको छ। पीडक मनोज सम्पर्कविहीन रहेकाले पीडित महिलाहरुले उनलाई पक्रन सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।