काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।
उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो।
टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो।
कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन्।
मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जना मारिएका थिए।
आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो।