काठमाडौं : सशस्त्र प्रहरीका डिएसपी देवराज राईमाथि शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले आक्रमण गरेका छन्।
सरकारले काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोली माथि आक्रमण गरेको हो।
जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत सब–स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो।
आक्रमणमा डिएसपीसहित केही प्रहरी घाइते भएका छन्। प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००–२२०–१३२–११ केभी सब–स्टेसन निर्माण गर्न लागिरहेको छ।
सब–स्टेसन निर्माणका लागि आवश्यक पर्ने सब–स्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ। मुआब्जा तथा क्षतिपूर्तिको विवादले त्यहाँका केही स्थानीयले विगत तीन वर्षबाट सब–स्टेसन निर्माणमा अवरोध गरिरहेका छन्।