धनगढी : धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भइ भएको आगलागीबाट १७ करोड ९७ लाख बराबरको क्षति भएको हो।
सारथी अस्पताल प्रालीको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनीकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड बराबरको भौतिक संरचनामा क्षति भएको छ भने दुई लाख २० हजार रुपैयाँ बराबरको कर्मचारीको स्कुटर जलेर नष्ट भएको डीएसपी चन्दले जानकारी दिए।
सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको थियो। धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।