कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्।
शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए।
‘जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ’, मन्त्री साउदले भने, ‘सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ।’
साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ।
मन्त्री साउदले शनिबार बिहान जोशीका बुवाआमा र दाजुसित भेटसमेत गरेका थिए। भेटमा परिवारका सदस्यहरूले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।