दार्चुला: नेपाल र भारत सरकारको सहयोगमा प्राप्त भएको जिल्लाको दुहुँ गाउँपालिका वडा ३ मा रहेको जनविकास मावि बारबाजको बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको छ। दार्चुला तिंकर सडकखण्ड तथा जौशाी गाउँ बारबाज सडक खण्डको स्तरोउन्नती हुन नसक्दा बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको हो।
दार्चुला तिंकर सडक खण्ड लगायत जोशीगाउँ बारबाज सडक खण्ड स्तरोउन्नती नहुदाँ बस सेवा संञ्चालनमा ल्याउन समस्या भएको विद्यालयका प्रधानाध्यापक शान्ती बोहराले जानकारी दिए। भारतीय राजदुतावासले बारबाज विद्यालयलाई २०७८ सालमा बस हस्तान्तरण गरेको थियो। विद्यालयलाई बस हस्तान्तरण गरिएको लामो समयसम्म समेत बस सेवा सञ्चालन नुहदाँ समस्या भएको छ।
भारत सरकारले भारतीय स्वतन्त्रता दिवसको अवसरमा उपहार स्वरूप उक्त बस प्रदान गरेको भएपनि सदरमुकाम क्षेत्रमै रोकिदा बसका पाठपुर्जा विग्रिने भन्दै स्थानीयहरुले तत्काल बस सेवा सञ्चालन गर्न माग गरेका छन्। बस अहिले जिल्ला सदरमुकाम खलंगाको टेलिकम कार्यालयको पछाडी राखिएको छ।
विद्यालयका प्रधानाध्यापक शान्ती बोहराका अनुसार बसका पाठपूर्जाहरु बिग्रिने भन्दै एक जना चालकलाई नियुक्ती दिएर बसलाई चलाउने गरिएको छ। विद्यालयको तर्फबाट चालकलाई प्रतिमहिना १ हजार रुपैयाँ तलब दिएर बस सेवा चलाउन अनुमति दिएको उनले बताए। विद्यालयले समन्वय समितिको गाडी चालक रामचन्द्र श्रेष्ठलाइ बस चलाउन अनुमति दिएको छ। विद्यालयको तर्फबाट बसमा चाहिने इन्धन आफैले हाल्ने गरेको बताइएको छ।
दहुँ गाउँपालिका शिक्षा शाखाका अनुसार दुवै सडकहरु स्तरोउन्नती भए बससेवा नियमति रुपमा सञ्चालनमा आउने छ। विद्यालय सेवा क्षेत्र भित्रका गाउँहरुसम्म सडक पुगेको भएपनि सडक स्तरोउन्नती नहुदाँ बससेवा सञ्चालन गर्न समस्या भएको शिक्षा शाखा अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।
जनविकास मावि बारबाजमा ३७५ जना विद्यार्थीहरुले पठनपाठन गर्ने गरेका छन्।