धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको रश्मी एग्रो प्रोसेसिङ उद्योगले उत्पादन गरेको चामलमा अखाद्य वस्तु भेटिएको छ ।
धनगढी उपमहानगरपालिका–१ बस्ने दिपक भट्टले शुक्रबार स्थानीय किराना पसलबाट खरिद गरेको उक्त उद्योगको चामलमा प्लाष्टिक मिसावट गरेको भेटिएको हो ।
भट्टले स्थानीय दिपेश लक्ष्मी जनरल स्टोरबाट खरिद गरिएको चामलमा प्लाष्टिक मिसावट गरिएको भेटिएपछि उपमहानगरपालिकालाई खबर गरेका थिए । लगत्तै उपमहनगरपालिका गएको नगर प्रहरीको टोलीले उक्त चामलको नमूना संकलन गरेर ल्याएको थियो ।
नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले चामलमा अखाद्य वस्तु मिसावट गरिएको गुनासो आएपछि नमूना संकलन गरेर ल्याइएको बताए । खड्काले संकलित नमूना परीक्षणका लागि खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइने बताए ।
रश्मी एग्रो प्रोसेसिङ उद्योगबाट उत्पादन गरिएको चामलमा अखाद्य वस्तु भेटिएको सम्बन्धमा बुझ्न उद्योगका सञ्चालक रोशन अग्रवालसँग सम्पर्क गरिएपनि उनले फोन उठाएनन् । यो उद्योगबाट उत्पादित चामलमा विगतमा पनि कैफियत देखिने गरेको थियो ।