कैलाली : विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन्।
ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन्।
लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए उनले ऐँठन उपन्यास महाभारत, विश्वयुद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए।
लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए। उनको यसअघि ‘ऐलानी’ उपन्यास पनि चर्चामा आएको थियो।
ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो। त्यो उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो।टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए।
लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उहाँले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए।