काठमाडौं – आज विश्व पृथ्वी दिवस हो । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।
अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।
जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ ।
पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए । पृथ्वीको संरक्षणका लागि सम्बन्धित निकायले चासो राख्नुपर्ने बेला भएको उनीहरुको गुनासो छ ।
पृथ्वीको संरक्षण कार्यक्रमले नागरिकमा पृथ्वीको संरक्षण कसरी गर्ने र अबका दिनमा पृथ्वीको संरक्षण गर्न नसके कस्तो असर पर्छ भन्ने कुराको चेतना पुग्ने उनीहरुको बुझाइ छ ।
त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।