धनगढी : प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ।
युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ। यस्तै इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने छ।
इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले कब्जामा लिएर बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताइन्।
यसैबीच, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको विपिनको परिवारमा भने सकुशल फर्कने आशा बढेको छ। हमासको कब्जामा रहेका विपिनको अवस्था थाहा नपाउँदा महानन्द र उनकी श्रीमती पद्मा ४६ दिनदेखि व्याकुल थिए।
बिहानै युद्धविरामको समाचारले ४६ दिनदेखिको पर्खाइको सुखद् अन्त्य हुने विश्वास जगाएको छ। विपिनका आमाबुवाले उनी अब छिट्टै फर्किने विश्वास जागेको बताएका छन्। विपिन गत असोज २० देखि हमासको नियन्त्रणमा छन्।