कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्यामा संलग्न व्यक्तिको पहिचान खुलेको छ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जोशीकोे १९ कार्तिकमा हत्या भएको थियो। हत्यामा सोही ठाउँका महेश डगौरा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जानकारी दिए।
विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको एसपी थापाले बताए। लागुऔषधका प्रयोगकर्ता समेत रहेका डगौरा अपराधिक क्रियाकलापमा संलग्न थिए।
उनले १४ कार्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए। उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए। एसपी थापाका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा गरेका थिए।
घाँस काटिदिन्छु भन्दै जोशीलाई आश्वासन दिएर उनले गहना लुट्न घाँटी च्यापेर हत्या गरेको खुलेको छ। जोशीको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेकोछ।
‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुनबिक्रिका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान, नाकलगाएतका तीन थान गहना तीन पसलमा बेचेको देखियो।’
एसपी थापाका अनुसार सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीले धनगढीस्थित इन्द्र बरालले सञ्चालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको बताए।
जोशीको हत्यामा संलग्न महेश डगौरा, सुनबेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ।
सुनचाँदी पसलधनीले प्रहरीसँगको बयानमा लक्ष्मण चौधरी र निरज भट्टले आफूसँग श्रीमती बिरामी भएकाले इमरर्जेन्सिमा सुन किन्न आग्रह गरेपछि किनिदिएको बताएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँच जनाबिरुद्ध फरकफरक मुद्दा चल्ने बताए।
महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बईबाट बेङ्ग्लोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको थियो।