काठमाडौँ : जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरू रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चचलाउनेका साथै दोषी ठहर भएकाहरुले जनही २० हजार रुपैयाँ जरिवाना समेत बुझाउनुपर्ने भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने सफाइ दिइएको छ ।
प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अङ्गभङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ अनुसार अङ्गभङ्ग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
सोही दफाको उपदफा ५ मा अङ्गभङ्ग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अङ्गभङ्गमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोदकुमार खतिवडाले त्यसको आधा अर्थात् डेढ वर्ष कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् ।
साथै सजाय पाएका व्यक्तिहरुबाट २८ लाख १७ हजार ५५३ रुपैयाँ क्षतिपूर्ति रकम पीडितलाई भराउनेसमेत फैसला भएको छ । घटनामा संलग्नमध्ये प्रमुख योजनाकार भनिएका हरि आचार्य भने यतिबेला अमेरिकामा छन् । अन्य आरोपितमध्ये सयुज श्रेष्ठ एक महिनादेखि पुर्पक्षमा रहेको भएपनि अन्य अभियुक्तहरु भने धरौटी राखेर थुनामुक्त भएका थिए ।