डोटी : डोटीको बडीकेदारमा तीन दिने धार्मिक मेला शुरु भएको छ। सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा शुक्रवार, शनिवार र आइतवार धार्मिक मेला लाग्ने भएको हो।
डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने समितिले जनाएको छ।
ठूला केदारका नामले समेत परिचित यस मेलाको अवसरमा बडीकेदार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दे मेलाको अवसरमा मंसिर १० गते बिदा दिएको जानकारी दिएको हो।
डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको छ।
बडीकेदार दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै दर्शन गर्न भक्तजनहरू आउने गर्दछन्। बडीकेदार धाममा तीनचार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू गर्ने गर्दछन्।
बडीकेदार डोटीको बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकाको सङ्गम स्थलका रूपमा रहेको छ। किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय लाना भन्ने गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो।
घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन्। पछि कात्तिक बैकुण्ठ चतुर्दशीका दिन एक पटक स्थानीय गोठाला लेकमा निगालो काट्न जाँदा साथीभाइबाट छुट्टिए।
उनी एक्लै रात बिताउन बाध्य भए। मध्यरातमा देवीदेवता बडीकेदारको शिलामा आगो बालेर नाचगान गर्दै शिवको पूजा गर्न लागेको गोठालाले प्रत्यक्ष देखें।
उनले देवीदेवताहरूले मन्त्र उच्चारण गरेको, भक्तिभाव गरेको सबैकुरा टिपेर स्थानीयवासीलाई जानकारी गराए। त्यही बेलादेखि कात्तिक चर्तुदर्शीका दिन बडिकेदारमा पूजाआजा हुने गरेको हो।