काठमाडौं : ७ अक्टोबरदेखि सुरु भएको इजराय-हमासबीच युद्ध केही समयका लागि रोकिएको छ। हमास समूहले इजरायलबाट नियन्त्रणमा लिएका बन्धकहरुलाई रिहा गरिएको छ। हमासले हालसम्म ५४ बन्धकलाई मुक्त गरेको छ। सिएनएनका अनुसार आइतबार हमासले थप १३ बन्धकलाई छोडेको छ।
त्यसअघि शनिबार १७ जना र शुक्रबार २४ बन्धकलाई उसले रेडक्रसको जिम्मा लगाएको थियो। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इसराइल गएका थिए।
हाल विपिन सम्पर्कसविहीन छन्। मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो। आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो।
आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेकी सहसचिव सेवा लम्सालले विपिन जोशी अर्को चरणमा छुट्ने सम्भावना रहेको बताइन्। त्यसका लागि कतारका सहायक विदेशमन्त्री सोल्तान विन साद अल–मुरैखीसँग गम्भीर छलफल भएको प्रवक्ता लम्सालले बताइन्।