डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउने भएका छन्। ओली मंसिर १५ गते डडेल्धुरा आउन लागेको एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिएका छन्।
जैरुका अनुसार ओली डडेल्धुरा आउने भएपछि मंसिर १५ गते बिहान १० बजे जिल्ला सदरमुकाम बसपार्कमा सन्देश सभा कार्यक्रम राखिएको छ। बसपार्कमा हुने उक्त कार्यक्रममा उनले सम्बोधन गर्ने छन्। एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुँदैछ। यात्राको शुभारम्भ ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।
अध्यक्ष ओलीले मंसिर १४ गते झुलाघाटबाट बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेव रिचपलेको साकिलमा माल्यार्पणको कार्यक्रम छ।
त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ। संकल्प यात्राअघि १३ मंसिरमा पाटनमा आयोजना गरिने अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
बैतडीको कार्यक्रम सकेर ओली डडेल्धुरा फर्किने छन्।