बैतडी– आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले बैतडीका तीन पालिकामा मात्रै चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धन दलहरुले जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । यी तीन पालिकामा २०७४ को निर्वाचनामा एमालेले जितेको थियो ।
पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष र समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदारमा कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष र डिलासैनीमा माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने निर्णय भएको छ । दलहरुले जिल्लाका अन्य सात पालिकामा तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा अझै टुंगो लगाउन सकेका छैनन् ।
कांग्रेसका जिल्ला सचिव देवराज जोशीले अहिलेसम्म अन्य पालिकामा मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने कुरा भएको बताए । यद्यपि यसबारे अहिलेसम्म सहमति भएको छैन । जिल्लाका कुनै पालिकामा समाजवादी र माओवादीको मात्र गठबन्धन भएको छ । सुर्नया गाउँपालिकामा शुक्रबार समाजवादी र माओवादीले गठबन्धन गरेर चुनावमा जाने बताएका छन् ।
अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । अन्य पालिकामा पनि माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना बलियो छ । यी पालिकामा भने कांग्रेस एक्लै चुनावमा जाने देखिएको छ ।