काठमाडौं– भर्खरै पदोन्नति भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाइ दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए। आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उनले निर्देशन दिए।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।