काठमाडौँ: अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन्।
इन्स्पेक्टर तिलकबहादुर बमले प्रदर्शनमा सहभागी नभएको तथा घर हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हानेको भिडियोमा देखिन्छ। प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल’ भनेका छन्। थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर ?’
इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या रु’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ। सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने र? बोल्न नपाउने ?’
अहिले उक्त कार्यको चर्को आलोचना भइरहेको छ।