धनगढी : कैलालीमा निर्घात कुटपिटपछि एक युवकको ज्यान गएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–२ बस्ने शिवलाल अधिकारीका २५ वर्षीया छोरा मोहन अधिकारीमाथि गएराति अज्ञात समूहले कुटपिट गर्दा उनको ज्यान गएको हो।
अधिकारी लम्किचुहा नगरपालिका–९ घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ उनलाई अपरिचित व्यक्तिले कुटपिट गरेको कैलाली प्रहरीले जनाएको छ। कैलाली प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको टाउको र खुट्टामा चोट लागेको थियो भने गएराति उनको अवस्था अचेत रहेको थियो।
वेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। तर, मेडिकल कलेज अस्पताल कोहलपुरले उनलाई टिकापुर अस्पताल रिफर गरेको थियो।
आज बिहान साढे ७ बजे टिकापुर अस्पताल पुर्याइएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाका विषयमा अनुसन्धान गर्न प्रहरी सहायक निरीक्षक ईश्वरीदत्त पाण्डेको कमाण्डमा ३ जनाको टोली खटिएको छ।
शंका लागेका ७ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– ९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल, २२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्की रहेका छन्।