काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा जान लागेको एपीएफ टोलीको विदाई गरेका छन् ।
महानिरीक्षक केसीले नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाई गरेका हुन् । त्यसअवसरमा उनले सुडातर्फ खटिने टोलीलाई शुभकामना तथा बधाई दिए ।
उनले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे ।
महानिरीक्षक केसीले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
उनीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत खादा ओढाई शुभकामना सहित हार्दिक बिदाई गरे ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान
गर्नेछन् ।