कैलाली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धि रोकिएको टिप्पणी गरेका छन् ।
मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले हिजोका सबै विकासका गति रोकिएको बताएका हुन् ।
२०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणले विश्वले प्रसंशा गरेको र कोभिड संक्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको ओलीले बताए । ती सबै सुधारको प्रयास देखेरनै असंवैधानिक ढंगबाट सरकार ढाकिएको ओलीको जिकिर थियो ।
पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुन्थ्यो । हामिले दैनिक ५ किलोमिटर सदक बनायौ । पहिले एक वर्षमा भएको काम हामिले २ दिन मा गरेका थियौं उनले भने विकासको गति देखेर एमालेको सरकार असंवैधानिक ढंगबाट ढालियो ।
अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको उनले बताए । ‘अहिलेको सरकारले सुशासन, विकास र रोजगारी दिन सकेको छैन । राम्रो शिक्षा दिन सकेन । उद्योग बन्द हुँदैछ । व्यापारीमा उत्साह छैन कमिसन तन्त्र हाबी भयो । देश राजनीतिक हिसाबले अस्थिरता र अराजक तर्फ गएको छ’, ओलीले भने ।
भोलि बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगिसकेका छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।