कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायीले अख्तियारमा उजुरी दिएका छन्।
इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन रानाले अख्तियारमा उजुरी दिएका हुन्।
रानाले बुधबार इन्जिनियर अवस्थीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन्।
अवस्थीले मंगलबार रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि ठेकेदार अख्तियार गएका हुन्।
ठेकेदार रानाले अख्तियारमा दिएको उजुरीमा इन्जिनियरले पालिकामा विभिन्न योजनाबाट कमिसन खाएर गुणस्तरहीन योजना पास गरेको आरोप लगाएका छन्।
खर्रा नालामा २ लाख कमिसन खाएको, कमिसनकै कारण निर्माणाधीन १० शय्याको अस्पताल अलपत्र पारेको, आव ०७९/८० मा इन्जिनियरले निकटलाई १५/१६ योजना कोटेसनमा दिएर गुणस्तरहीन बनाएको, माटो हाल्नुपर्ने योजनामा बालुवा हालेर कमिसन लिएको, भानु मावि भवनमा सञ्चालित कापी उद्योगमा कमिसन लिएर पुरानो मेसिन स्वीकृत गरेकोजस्ता दर्जनौँ आरोप लगाइएको छ। आफ्नो ठेक्कामा समेत २ लाख मागेको रानाको आरोप छ।