बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताएका छन्।
बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
‘यो यात्रा संवादको यात्रा हो,यो यात्रा अध्ययनको यात्रा हो। यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ।’
अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग सघन संवाद गर्ने बताए।
‘जनताका समस्या के छन् ? एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ ? अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने सङ्कल्प गर्नेछौ’, अध्यक्ष ओलीको भनाइ छ।
यात्रा पुस १ मा चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । यात्रामा एमाले शीर्ष नेताहरू सहभागी छन्।