काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन्।
बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन्।
स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन्। एमालेको यात्रा शुभारम्भ स्थललाई अन्माउन लागेकी बेहुलीजस्तै सिँगारिएको थियो।
एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन्।
यात्रा चिवा भञ्ज्याङ पुगेर सकिने छ। एमाले अध्यक्ष ओलीले अभियानको उद्घाटनपछि नेपालको राष्ट्रिय झन्डा र पार्टीको झन्डा पार्टीका सूदुरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मालाई हस्तान्तरण गरेका छन्।
बैतडीको झुलाघाटबाट पार्टीले शुभारम्भ गरेको यात्रालाई पूर्वको चिवा भञ्ज्याङमा पु¥याउनका लागि ओलीले झन्डा हस्तान्तरण गरेका हुन्।
अध्यक्ष ओलीले हस्तान्तरण गरेको झन्डा कर्णाली प्रदेशको राकम कर्णालीमा पुगेर कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई हस्तान्तरण गर्ने छ भने रुकुमकोटमा गएर कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
सोही अनुसार यात्राको टोली एक प्रदेशबाट अर्को प्रदेश प्रवेश गर्दा त्यहाँका इन्चार्जलाई झन्डा हस्तान्तरण गर्दै कोशी प्रदेश टोली कोशी प्रदेश पुगेर अभियान समापन हुनेछ।