धनगढी : नेकपा एकीकृत समाजवादीका बैतडीका नेताहरु एमाले प्रवेश गरेका छन्।
पार्टीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट, समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटि सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी सहितका नेताहरु एमालेमा फर्किएका छन्।
एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन्। एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ कार्यक्रमको अवसरमा गोठलापानीमा आयोजना गरिएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर बिष्टसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रही सकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्।
गएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै उनीहरुलाई काँग्रेसलाई कारवाही गरेको थियो। पार्टीमा प्रवेश गरेकाहरुलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका छन्।