इस्लामाबाद– पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडासुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा जनाएको छ ।
प्रभातका अनुसार मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट(बाल्टिस्टानका साथै आईजीपी र इस्लामाबादका प्रमुख आयुक्तलाई तत्काल पत्र पठाएको छ । उनीहरुले इमरान खानका लागि कडा सुरक्षा उपाय अपनाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री सरिफले आन्तरिक मामिलामन्त्री राणा सनौल्लाहलाई व्यक्तिगत रूपमा परिस्थितिको अनुगमन गर्न र आदेश कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका हुन् । ‘विशेष गरी इमरान खानको जनसहभागिता र भेलाका क्रममा सुरक्षाका उपायहरूका सम्बन्धमा कुनै पनि लापरबाही हुन नदिने भनी सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिइएको छ ।’
प्रधानमन्त्री शेहबाजले अविश्वास प्रस्तावमार्फत इमरान खानलाई हटाएपछि अप्रिल ११ मा पाकिस्तानी प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । खान पाकिस्तानको इतिहासमा लोकतान्त्रिक प्रक्रियाबाट हटाइने पहिलो प्रधानमन्त्री बनेका छन् । रासस