डडेल्धुरा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन्।
राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरेका हुन्।
‘हामी अहिले मिसन ८४ भनिरहेका छौं। यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ,’ उनले भने, ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं। यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’
ओलीले सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेकोे टिप्पणी गरे। ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ। आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ। हो होइन अदालतले भन्ला।’
उनले सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको जिकीर गरे।