डडेल्धुरा : डडेल्धुराः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका छन्। ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत बिहीबार बेलुकी डडेल्धुरा पुगेका ओलीले शुक्रबार ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका हुन्।
अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा रहेको अमरसिंह थापाको शालिकमा माल्यार्पणसमेत गरे। अमरगढी किल्लामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले स्वागत गरेका थिए।
ओलीले अमरसिंह थापाको शालिकलाई ठूलो बनाउन नगरप्रमुख जोशीलाई आग्रह पनि गरे। ‘मेयरसा’प यो शालिक भएन। अलि ठूलो शालिक बनाउनुहोस्। नेपाल एकीकरणका क्रममा अमरसिंह थापाले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने।
माल्यार्पणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अमरसिंह गढीमा राखिएको किल्लाले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए। उनले अमरसिंह थापाजस्ता योद्धाले लडेर बनाएको देशको सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डता बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताए।
उनले हरेक नागरिकले आफूभन्दा पहिला देश सोच्नुपर्ने बताए। अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताए।
‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३र७४ वर्षको उमेरमा यो बनाउनुभएको हो किल्ला। यो किल्लाले त्यसबेला महत्वपूर्ण भूमिका खेलेको थियो। यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लाहरुमध्येको एउटा हो। अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिश इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइँ थियो,’ अमरसिंह थापालाई सम्झिँदै ओलीले भने, ‘अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उनका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरि किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए। त्यहाँबाट अंग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो।’