दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको छ ।
डेढ वर्ष अघि देखि केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरेपछि अहिले धावनमार्गमा सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र सिह ऐरले जानकारी दिए ।
तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर विमानस्थल पुनःनिर्माण गरिएको उनले बताए । ठेक्का सम्झौताको काम सम्पन्न भएपछि अब विमानस्थलमा ग्राभील र पिच गर्ने काम बाकी रहेको बताइएको छ । विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएपछि अब कालोपत्रेको काम सुरु हुने आयोजनाले जनाएको छ । यसका लागि नागरिक उडड्यन प्राधिकरणले पुन अर्को टेन्डर आह्वान गर्ने जनाएको छ ।
उडड्यन प्राधिकरणले कालोपत्रेसंगै विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिस लगायत निर्माण कार्यका लागि अर्को टेन्डर आह्वान गर्ने जनाएको छ । विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसिर २२ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो ।
अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झन्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।
विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेल मैदानका रुपमा परिणत भएको थियो । द्वन्द्वकाकालका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिसलगायतमा आगजनी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुन सकेको थिएन ।