अछाम : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन्।
अछामको विनायकमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताए।
आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उनको भनाइ थियो। तर अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उनले बताए।
‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो,’ ओलीले भने, ‘यो कुरा हामीमाथि पनि र संसदमा पनि भनिरहेका छौं। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौं।’
आफू सरकारबाट हटेपछि विभिन्न हत्या, हिंसाका सिलसिला सुरू भएको उनले बताए।
‘अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौं, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ। म विनोद शाहीलाई शहीदको रुपमा घोषणा गर्दछु,’ उनले भने।
चुनावकै विषयमा ०७९ जेठ १७ गते अछामका शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा ओलीले खेद प्रकट गरेका थिए।