काठमाडौं – नेपाल भ्रमण रहेको अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा चार सिनेटरहितको उच्चस्तरीय संसदीय टोलीले शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेटेका हुन्।
भेटका क्रममा नेपाल र अमेरिकी सम्बन्ध, जलवायुका मुद्दा, बहुआयामिक साझेदारी लगायतका विषयमा छलफल भएको छ। भेटपछि प्रधानमन्त्री देउवाले ट्वीट गर्दै अमेरिकी सांसद्लाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुसी भएको जनाएका छन् । भेटमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसमेत सहभागी थिए।
सोहि टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा द्वीपक्षीय सम्बन्ध, आर्थिक सहायता लगायतको विषयमा छलफल भएको थियो।
भ्रमण टोलीमा शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहेका छन्। उनीहरू पोल्यान्ड, युएई, जर्मनी र भारतको ९ दिने भ्रमण सकेर शुक्रबार नेपाल आइपुगेका हुन्। उनीहरु आइतबार फर्कनेछन् ।