काठमाडौं – सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।
देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो । यस्तै ११ उपमहानगरमध्ये हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा समाजवादीले पाएको उम्मेदवार पाए पार्टीको एक नेताले जनाएको छ ।
पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको सोही नेताले बताए। पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको सोही नेताले बताए।
सोही नेताका अनुसार श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने भएका छन् ।
यस्तै हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ। बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि सोही नेताले बताए। अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निर्णय गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने छ ।